प्रधानमन्त्री ओलीसँग जी न्युजका प्रधानसम्पादक चौधरीको अन्तर्वार्ता

ताजा समाचार

काठमाडौँ ।

 

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका छन् । शनिबार तीन जनाको टोलीसहित काठमाडौं ओर्लिएका सुधीरले आइतबार बालुवाटार पुगेर ओलीको अन्तर्वार्ता लिएका हुन् ।

 

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो ।

 

जुन कार्यक्रम सुधीरले नै सञ्चालन गरेका थिए । प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि सुधीरले फेसबुकमा लेखेका छन्, ‘छिमेकमा के चलिरहेको छ भनेर थाहा पाउनु महत्त्वपूर्ण हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो कुराकानी भयो ।

 

जी न्युजले पटक–पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दैै आएको छ ।यसअघि असारमा जी न्युजको बिहार झारखण्ड संस्करणमा नेपालमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको भन्दै ‘ओलीकी इस्किँया’ भनेर विवादित सामग्री प्रसारण गरेको थियो ।

 

त्यस्तै प्रधानसम्पादक सुधीर चौधरीले पनि नेपालबारे विवादित ट्वीट गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए ।

 

उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’

 

भारतीय न्युज च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको सम्बन्धलाई जोडेर तथ्यरहित रिपोर्ट प्रसारण गरेको भन्दै नेपालमा भारतीय न्युज च्यानललाई रोक लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *