आगामी चुनावमा कांग्रेस र माओवादी मिलेर लड्ने प्रचण्डको घोषणा

ताजा समाचार

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावसम्मै सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन् ।

 

शनिबार जनकपुरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरे ।

 

संविधान र राष्ट्रको रक्षाका लागि निर्माण भएको गठबन्धनमा कुनै पनि विवाद नरहेको उनले बताए ।

 

‘अब ३ दिनभित्रै सरकार विस्तार हुन्छ,’ उनले भने, ‘असोज ४ वा ५ गतेसम्म सरकार विस्तार हुन्छ । विवादका कारण नभई प्राविधिक कारणले सरकार विस्तारमा ढिलाइ भएको छ ।

 

अमेरिकी सहयोगको एमसीसीका कारण गठबन्धन टुट्ने आशंकाबारे प्रचण्डले भने, ‘एमसीसीका कारण गठबन्धन टुट्दैन, ढुक्क हुनुस् ।

 

यो गठबन्धन लोकतन्त्र, गणतन्त्र, संघीयता, संविधानको रक्षाका लागि बनेको हो । सजिलै टुट्नेवाला छैन । यो गठबन्धन आगामी चुनावसम्मै कायम रहन्छ ।

 

आगामी चुनावमा गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलहरू मिलेर चुनाव लड्ने उनले बताए ।

 

एमसीसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्रमार्फत् पारित गर्नुपर्ने प्रचण्डले बताए ।

 

‘सरकारले पूर्णता पाउन ढिलाइ भएपछि गठबन्धनमा गडबड भएको भ्रम फैलाइयो,’ प्रचण्डले भने, ‘गठबन्धनमा कुनै असन्तुष्टि छैन । हामी एक ढिक्का छौं ।

 

अध्यक्ष प्रचण्डले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरू बिगारिएकाले विना परिमार्जन संसद्बाट पारित गर्न नमिल्ने बताएका छन् ।

 

अमेरिकी संसद्मा एमसीसी इन्डो प्यासिफिक स्ट्राटेजीको अंग हो भन्ने विषय चर्चामा आएपछि नेपालमा विवाद झन चर्कियो,’ अध्यक्ष प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *